सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ? सरकारले काठमाडौंका खोला किनारका सुकुम्वासी बस्ती उठीबास लगाएको देख्नु-सुन्नु भो। एकैदिन ६/७ वटा डोजर लगाएर घरटहरा भत्काएको देख्नुभो ? रास्वपा सरकारको संसद्मा बहुमत छ, तर संसदको घोषित अधिवेशन स्थगित गरायो, आधा दर्जन अध्यादेश ल्यायो। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिले सुझाएको पुनर्विचारलाई वास्तै गरेन। अघिल्ला सत्ता-गठबन्धन, सरकारबाट राजनीतिक नियुक्ति पाएका करिब १ हजार ६ सय जनालाई एकै झट्कामा पदमुक्त गरेको देख्नुभो। त्यसरी हटाइएका सबै नालायक मात्रै थिए ?
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्मा मिचेको रोलक्रम, छनोट गरिएकालाई किन गरियो भन्ने कार्यसम्पादन नम्बरको फोस्रो तर्क देख्नुभो ? खोपीमा बसेका प्रधानमन्त्री बाहिर निस्कदैनन्। भाषण गर्दैनन्। मिडिया बोलाएर उखान-टुक्का बोल्दैनन्। के, किन गर्दैछु भन्दैनन्। अब तपाइँको राजनीतिक चेत जाग्छ। झ्वाँक चल्छ। दुई-चारवटा पोस्टमा सरकारलाई गाली गर्नुस्।
अनि हेर्नुस्, आउने कमेन्टको बाढी। थोरैले ठिक भन्नेछन्। धेरैले तपाइँ परिवर्तन र नयाँ शक्ति विरोधी हो मात्रै भन्दैनन्, तथानाम गाली पनि गरे अस्वाभाविक मान्नु पर्दैन। पार्टीका झोलेको ट्याग पाइहाल्नुहुन्छ। गाली पनि यति अनपेक्षित भाषामा पाउनुहुन्छ की कुरै नगरम। गाली खान मन छैन ? लु भैगो।
आउनुस् युवा नेतृत्वको सरकारको काम हेरम र गीत गाम। राजनीतिक नियुक्तिलाई एकै पटकमा पजनी गरिदियो। विभिन्न पदका लागि खुला प्रतिष्पर्धाबाट छनोटको प्रक्रिया अघि बढेको छ। दरखास्त खुलाइएको छ। अब सोर्स सिफारिस होइन, योग्यता क्षमता भएकाले अवसर पाउँछन्। खोला किनार र सरकारी जग्गा जथाभावी अतिक्रमण गरेर घरटहरा बनाउनेलाई उठायो। राम्रो गरेको छ। सरकारी सेवा छिटो र चुस्त भएको छ। कर्मचारी विनम्र भएका छन्। सरकारी कार्यालयमा अब फाइल छिटो प्रक्रियामा जान्छ, घूस मागिदैन। हामीलाई चाहिएको यस्तै हो। आउनुस् सरकारको समर्थनमा लेख्नुस्।
सुख त सरकारको समर्थनमा लेख्नेलाई पनि छैन। आउनेछ गालीको वर्षा। सामाजिक मान्छे दलीय नै हुन्छ। पात्र र परिस्थिति केलाउँदा आफ्नो आस्था भलै प्रकट नगरुन् तर, कतै न कतै समर्थन त रहन्छ नै। आफ्नो पेसा-व्यवसाय, करिअरमा कतै न कतै ट्यागले सजिलो गराउने सिकाइमा अघि बढेको हो समाज। त्यही ट्यागमाथिको पक्षधरता यति उत्कर्षमा पुग्यो की जतासुकै 'हाम्रा' मात्रै छनोट गर्ने, अवसर दिने परिपाटी बस्यो।
तटस्थ कोही छु भनेर दाबी गर्छ भने पनि त्यसका लागि उसको निश्चित स्वार्थ अवश्य हुन्छ। आफ्नो 'तटस्थता'माथि कसैको नजर परोस्, कार्यक्षेत्र फराकिलो बनोस् भन्ने अभिप्राय हुन्छ, हुन्छ। पक्षधरतालाई समर्थनभन्दा गालीले पछ्याउने बनेको छ समाज। यो परिस्थिति वर्तमानको एउटा तितो यथार्थ हो। राजनीति, विचार, गुटका नाममा मानिसहरू यसरी बाँडिएका छन् कि त्यहाँ 'विवेक' भन्दा बढी 'पार्टीगत चस्मा' हाबी हुने गरेको छ।
हामी यतिबेला राजनीतिक विषयमा बहस गर्न लागेका होइनौँ, न त निर्दलीय व्यवस्थाको पक्षपोषण नै अभिप्राय हो। तपाइँ जता लाग्नुस्, सुख छैन। वैचारिक धार छाडेर जब जब आफूले समर्थन गरेको पक्षका सबै क्रियाकलाप राम्रो राम्रो भन्न थाल्नुहुन्छ, समाज यस्तै हुन्छ। मन नपरेकालाई लखेट्छ।
हुनुपर्ने जुनसुकै दल वा आस्थावान भए पनि न्यायिक समाजका लागि काम गर्ने, निष्पक्ष, इमानदार हो। तर, पक्षधरतासँगै समाजमा ती तत्व हावी भए जो हुनुहुँदैनथ्यो। समर्थन वा हौसला बढाउनेभन्दा लखेट्नु वा खुइल्याउनुलाई समाजले छिटो हेर्छ, प्रतिक्रिया दिन्छ। त्यसैले धेरैलाई भ्रम छ - हिँड्नु त यसरी पो पर्ने रहेछ !
यो नेपालको वा नेपाली समाजको एक्लो समस्या होइन। भारतका प्रधानमन्त्री मोदी, उनको दल, गतिविधि, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, तिनको बोली, तिनको कदम। समर्थन गर्नेलाई सुख छैन, विरोध गर्नेलाई पनि तिनका समर्थक र अनुयायीबाट अनेक सकस छन्। यो संसारभरकै समस्या हो।
यसलाई मनोविज्ञान र समाजशास्त्रको दृष्टिकोणबाट हेर्दा केही मुख्य कारणहरू देखिन्छन् :
१. 'इन-ग्रुप' र 'आउट-ग्रुप' मनोविज्ञान
मानिसको स्वभाव नै आफ्नो समूह (In-group) लाई राम्रो देख्ने र अर्को समूह (Out-group) लाई शत्रु वा कमसल देख्ने हुन्छ। जब मानिस कुनै दल वा विचारधारासँग अन्धभक्त भएर जोडिन्छ, उसलाई लाग्छ - 'मेरो दलले जे गरे पनि ठीक, अरुले जे गरे पनि बेठीक।' यसले गर्दा वस्तुनिष्ठ भएर सोच्ने क्षमता हराउँछ।
यो मनोविज्ञानको एउटा यस्तो पाटो हो जसले मानव समाजलाई 'हामी' र 'उनीहरू' मा विभाजित गर्छ। हेनरी ताजफेलको 'सामाजिक पहिचान सिद्धान्त' (Social Identity Theory) अनुसार, मानिसले आफ्नो आत्म-सम्मान बढाउन आफ्नो समूहलाई उच्च देखाउने र अर्को समूहलाई होच्याउने गर्छ। यो 'अन्धभक्ति' को अवस्थामा पुगेपछि मानिसको मस्तिष्कले 'पुष्टिकरण पूर्वाग्रह' (Confirmation Bias) को सहारा लिन्छ, अर्थात्, उसले आफ्ना नेताका गल्तीलाई ढाकछोप गर्छ र विपक्षीका राम्रा काममा पनि खोट देख्छ।
यसले गर्दा समाजमा संवादको ठाउँ 'वैचारिक युद्ध' ले लिन्छ। जब विवेकभन्दा 'समूहप्रतिको वफादारी' ठूलो हुन्छ, तब सत्य ओझेलमा पर्छ र न्याय केवल आफ्नो समूहको स्वार्थमा सीमित हुन पुग्छ। यसले नागरिकलाई वस्तुनिष्ठ हुनुको साटो एउटा संकीर्ण घेराको बन्धक बनाइदिन्छ।
२. पुष्टीकरण पूर्वाग्रह (Confirmation Bias)
अहिले मानिसहरू आफूलाई जे विश्वास लाग्छ, त्यसलाई पुष्टि गर्ने समाचार र विचार मात्र सुन्न चाहन्छन्। यदि कसैले सरकारको राम्रो कामको प्रशंसा गर्यो भने, विरोधी चस्मा लगाउनेहरूलाई त्यो तथ्य लाग्दैन, बरु चाकरी लाग्छ। उनीहरू आफ्नो पूर्व-निर्णित धारणा (Preconceived notions) भन्दा बाहिर निस्कनै सक्दैनन्।
मनोवैज्ञानिक रूपमा यो एउटा यस्तो मानसिक 'फिल्टर' हो, जसले हाम्रो धारणासँग मेल खाने सूचनालाई मात्र भित्र छिर्न दिन्छ र असहमत हुने तथ्यलाई बाहिरै रोक्छ। जब हामी कुनै नेता वा विचारको पक्षमा हुन्छौं, हाम्रो मस्तिष्कले उसले गरेका गल्तीलाई नजरअन्दाज गर्न 'तर्क' खोजिरहेको हुन्छ।
ड्यानियल काहनेम्यानका अनुसार, मानिसले नयाँ तथ्यको आधारमा आफ्नो धारणा बदल्नु भन्दा पुरानै धारणालाई पुष्टि गर्न तथ्यांक तोडमरोड गर्न बढी ऊर्जा खर्च गर्छ। यो पूर्वाग्रहले गर्दा नै समाजमा 'सत्य' भन्दा 'विश्वास' हावी हुन पुग्छ। यसले मानिसलाई यतिसम्म अन्धो बनाउँछ कि उनीहरू विपक्षीले दिएका सही सुझावलाई पनि 'षड्यन्त्र' देख्छन् र आफ्नै समूहको घातक निर्णयलाई 'महान कदम' भन्ठान्छन्। यो पूर्वाग्रहबाट मुक्त हुनु नै बौद्धिक स्वतन्त्रताको पहिलो पाइला हो।
३. 'लेबलिङ' र असहिष्णुता
आजकल स्वस्थ बहस भन्दा पनि एकअर्कालाई 'ट्याग' झुण्ड्याइदिने चलन छ। बहस भलै स्वस्थ संवादबाटै थालनी किन नहोस्, अन्ततः कित्ताकाटको अवस्थामा पुगेकै हुन्छ।
सरकारको विरोध गरे - 'विरोधी' वा 'कुण्ठित' भनिदिने।
सरकारको समर्थन वा राम्रो कामको तारिफ गरे - 'झोले' वा 'हनुमान' भनिदिने।
४. सोसल मिडियाको 'इको च्याम्बर'
सामाजिक सञ्जालका अल्गोरिदमहरूले हामीलाई त्यस्तै कुराहरू देखाउँछन् जुन हामी मन पराउँछौं। यसले गर्दा मानिसहरू एउटै खालको विचारको घेराभित्र थुनिन्छन्। अर्को पक्षको तर्क सुन्ने धैर्यता र सभ्यता हराउँदै गएको छ, जसको परिणाम गालीगलौज र व्यक्तिगत आक्षेपमा ठोकिन्छ।
सामाजिक सञ्जालका 'एल्गोरिदम' हरूले हाम्रो रुचि र पूर्वग्रहलाई नै पुँजीकरण गर्छन्। यसले हामीलाई यस्तो डिजिटल घेराभित्र कैद गरिदिन्छ, जहाँ आफ्नै विचारका प्रतिध्वनिहरू (Echoes) मात्र सुनिन्छन्। जब हामी निरन्तर एकपक्षीय सूचना मात्र उपभोग गर्छौं, तब हाम्रो मस्तिष्कले 'विपरीत तर्क' लाई असत्य वा शत्रुतापूर्ण ठान्न थाल्छ। यसले गर्दा संवादको 'सभ्यता' हराउँछ र तर्कको ठाउँ गालीगलौजले लिन्छ। अर्को पक्षको कुरा सुन्ने धैर्यता समाप्त हुनु भनेको लोकतन्त्रको आधारभूत जग,'बहुआयामिक विमर्श' भत्किनु हो। यो 'इको च्याम्बर' ले हामीलाई संसारलाई त्यसको वास्तविक स्वरूपमा होइन, बरु आफ्नो मोबाइलको सानो पर्दाले देखाउने फिल्टर गरिएको र ध्रुवीकृत रूपमा मात्र हेर्न बाध्य बनाउँछ।
५. राजनीतिक संस्कारको अभाव
हाम्रो राजनीतिमा 'रचनात्मक प्रतिपक्ष' र 'आलोचना सुन्ने सरकार' को संस्कार विकास हुन सकेको छैन। समर्थन गर्नु भनेको दास हुनु होइन र विरोध गर्नु भनेको शत्रुता होइन भन्ने कुरा नेतादेखि कार्यकर्तासम्मले बुझ्न जरुरी छ।
निष्कर्षमा भन्न सकिन्छ, आफ्नो विचारभन्दा फरक मत राख्नेलाई सम्मान गर्न नसक्नु नै यो 'भीड' को समस्या हो। जबसम्म मानिसले व्यक्तिको विचारलाई उसको 'आस्था' सँग मात्र जोडेर हेर्छ र 'विवेक' सँग जोड्दैन, तबसम्म यो गाली गर्ने र आरोप लगाउने क्रम चलिरहन्छ। समाजलाई यो दलदलबाट निकाल्न स्वतन्त्र चिन्तन र तथ्यमा आधारित बहसको खाँचो छ।
लोकतन्त्रमा असहमति शत्रुता होइन, यो त प्रणालीलाई सच्याउने ऐना हो। जब ऐना नै फुटाइन्छ, तब अनुहार सफा देखिने सम्भावना समाप्त हुन्छ।
हाम्रो राजनीतिक संस्कृतिमा असहमतिको अर्थ अक्सर 'विग्रह' वा 'शत्रुता' लगाइन्छ। 'रचनात्मक प्रतिपक्ष' भनेको केवल सरकारको खुट्टा तान्ने समूह होइन, बरु सत्तालाई स्वेच्छाचारी हुनबाट जोगाउने एउटा वैधानिक संयन्त्र हो। अर्कोतर्फ, सरकारले आफ्नो आलोचनालाई शत्रुको प्रहार नभई आफ्ना कमजोरी सच्याउने 'अवैतनिक सल्लाह' का रूपमा लिनु आवश्यक छ। जब कार्यकर्ताले समर्थनलाई 'दासता' र विरोधलाई 'युद्ध' को संज्ञा दिन्छन्, तब संवादको ठाउँ अन्धताले लिन्छ। यो संस्कारको अभावले गर्दा नै आज समाजमा बौद्धिक विमर्श भन्दा बढी व्यक्तिगत आक्षेप र 'ट्रोलिङ' हावी भएको छ।
निष्कर्षमा यो 'इन-ग्रुप र आउट-ग्रुप' को चक्रव्यूहबाट निस्कने एउटै उपाय हो, विवेकको स्वतन्त्रता। हामीले कुनै विचारलाई उसको 'झण्डा' हेरेर होइन, 'गुण' हेरेर ग्रहण गर्न सिक्नुपर्छ। लोकतन्त्रमा असहमति शत्रुता होइन, यो त प्रणालीको अनुहार देखाउने ऐना हो। जब हामी ऐना नै फुटाउन उद्यत हुन्छौँ, तब आफ्नो अनुहारमा लागेको दाग कहिल्यै देखिँदैन। तसर्थ, समाजलाई यो दलदलबाट निकाल्न प्रत्येक नागरिकले आफूलाई भीडको पछाडि दौडने 'अनुयायी' भन्दा पनि तथ्य र न्यायको पक्षमा उभिने 'स्वतन्त्र चिन्तक' का रूपमा पुनर्गठित गर्नु अपरिहार्य छ।
***
वैचारिक ध्रुवीकरण : विश्वव्यापी सन्दर्भ र केही चर्चित अध्ययन
यो 'इन-ग्रुप' र 'आउट-ग्रुप' को समस्या केवल नेपालको मात्र होइन, यसलाई विश्वका चर्चित समाजशास्त्री र मनोवैज्ञानिकहरूले गहिरोसँग अध्ययन गरेका छन्। अमेरिकी पत्रकार तथा लेखक बिल बिशपले आफ्नो चर्चित पुस्तक 'द बिग सर्ट' (The Big Sort) मा एउटा डरलाग्दो तथ्य प्रस्तुत गरेका छन्। उनका अनुसार, मानिसहरू अचेल भौतिक र वैचारिक दुवै रूपमा आफू जस्तै सोच्ने मानिसहरूको बीचमा मात्र बस्न रुचाउँछन्। जब हामी आफ्नै विचारधारा भएका मानिसहरूको घेरा (Echo Chamber) मा बस्छौँ, हाम्रो सोच अझ कट्टर हुँदै जान्छ र विपरीत विचार राख्नेलाई हामी 'भ्रमित' वा 'शत्रु' देख्न थाल्छौँ।
'द बिग सर्ट' को एउटा मर्मस्पर्शी अंश छ - 'समान विचारधारा भएका मानिसहरूको सामीप्यले विचारलाई सन्तुलित बनाउँदैन, बरु त्यसलाई थप उग्र र कट्टर बनाउँछ।' उनले यसलाई 'ग्रुप पोलराइजेसन' (समूहगत ध्रुवीकरण) भनेका छन्। बिशप तर्क गर्छन् कि जब हामी आफूलाई समर्थन गर्नेहरूबाट मात्र घेरिएका हुन्छौँ, हाम्रा तर्कहरूले चुनौती पाउँदैनन्, बरु निरन्तर 'पुष्टि' मात्र पाउँछन्।
यसको परिणाम स्वरूप, मानिसहरूले फरक मत राख्नेहरूलाई केवल 'असहमत' मात्र देख्दैनन्, उनीहरूलाई 'नैतिक रूपमै भ्रष्ट' वा 'समाजको सत्रु' ठान्न थाल्छन्। बिशपले उल्लेख गरेको डरलाग्दो तथ्य के हो भने, यो विभाजन केवल राजनीतिक मात्र नभई भौगोलिक पनि बन्दै गएको छ। हामी कुन टोलमा बस्छौँ, कुन रेस्टुरेन्टमा खान्छौँ र कस्तो संगीत सुन्छौँ भन्ने कुराले नै हाम्रो राजनीतिक कित्ता तय गर्न थालेको छ।
सामाजिक सञ्जालले यो 'भौगोलिक दूरी' लाई 'डिजिटल पर्खाल' मा परिणत गरिदिएको छ। जब कसैले सरकारको आलोचना वा समर्थन गर्छ, उसले अर्को पक्षको तर्क बुझ्ने चेष्टा नै गर्दैन; किनकि उसको 'डिजिटल टोल' (Feed) मा सबैले उसकै कुरामा ताली बजाइरहेका हुन्छन्। यसरी बिशपले संकेत गरेझैँ, हाम्रो समाज 'विविधता' बाट 'समानताको संकुचित घेरा' तिर खुम्चिँदै गएको छ, जहाँ विवेकभन्दा बढी 'भिडको मनोविज्ञान' हाबी हुन्छ।
त्यस्तै, सामाजिक मनोवैज्ञानिक जोनाथन हाइटले आफ्नो पुस्तक 'द राइटियस माइन्ड' (The Righteous Mind) मा लेखेका छन् - 'मानिसको दिमाग एउटा सानो वकिल जस्तो हो, जसको काम सत्य खोज्नु होइन, बरु आफ्नो पक्षको स्वार्थलाई जुनसुकै मूल्यमा सही साबित गर्नु हो।' हाइट भन्छन्, राजनीति र धर्मले मानिसहरूलाई एउटै मालामा गाँस्छ त पक्कै, तर यसले मानिसलाई अन्य समूहप्रति 'अन्धो' र 'अन्धभक्त' पनि बनाइदिन्छ। उनको अध्ययनले देखाउँछ कि जब हाम्रो 'नैतिक चेत' कुनै समूहसँग जोडिन्छ, हाम्रो विवेकले काम गर्न छोड्छ र हामी 'आफ्नो समूहको गल्तीलाई पनि गुण' र 'अर्को समूहको गुणलाई पनि दोष' देख्न थाल्छौँ।
जोनाथन हाइटको यो विश्लेषणलाई अझ गहिराइबाट बुझ्न उनले प्रयोग गरेको एउटा प्रसिद्ध रूपक (Metaphor) उल्लेखनीय छ - 'हात्ती र माउते' (The Elephant and the Rider)। हाइट भन्छन्, हाम्रो 'सहज प्रवृत्ति' वा 'भावना' एउटा विशाल हात्ती जस्तो हो, जबकि हाम्रो 'तर्क' त्यस माथिको सानो माउते मात्र हो। माउतेले हात्तीलाई नियन्त्रण गरेको जस्तो देखिए पनि, वास्तवमा हात्ती (भावना) जता जान खोज्छ, माउते (तर्क) ले त्यसैलाई सही साबित गर्न 'वकालत' मात्र गरिरहेको हुन्छ।
जब राजनीतिको कुरा आउँछ, हाम्रो 'हात्ती' पहिले नै आफ्नो कित्ता वा समूह (In-group) तिर ढल्किसकेको हुन्छ। त्यसपछि हाम्रो बुद्धिमानी माउतेले विपक्षीलाई गाली गर्न र आफ्नो पक्षको बचाउ गर्न नयाँ-नयाँ तर्कहरू खोज्न थाल्छ। हाइटको पुस्तकको मुख्य निष्कर्ष नै यही हो: "Morality binds and blinds" अर्थात् नैतिकताले हामीलाई एउटा समूहमा त बाँध्छ, तर त्यही समूहको स्वार्थ रक्षाका लागि हामीलाई यसरी 'अन्धो' बनाइदिन्छ कि हामी सत्यलाई देख्नै चाहँदैनौँ।
नेपाली सामाजिक सञ्जालमा देखिने 'गालीगलौज' को वर्षा यसैको एउटा रूप हो। त्यहाँ कोही पनि सत्यको खोजी गरिरहेका छैनन्; बरु सबैजना आ-आफ्नो समूहको 'हात्ती' लाई सही दिशामा हिँडिरहेको देखाउन तर्कका सहाराले विपक्षीमाथि खनिरहेका छन्। हाइटको यो अध्ययनले प्रस्ट पार्छ कि जबसम्म हामी आफ्नो 'नैतिक अहंकार' बाट बाहिर निस्केर अर्को पक्षको 'नैतिक जग' लाई बुझ्ने प्रयास गर्दैनौँ, तबसम्म यो इन-ग्रुप र आउट-ग्रुपको गोल चक्कर चलिरहनेछ।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक क्यास सन्सटिनले 'ग्रुप पोलराइजेसन' (Group Polarization) को सिद्धान्त मार्फत व्याख्या गरेका छन् कि जब समान विचार भएकाहरू बीच मात्र छलफल हुन्छ, उनीहरू पहिलेको तुलनामा अझ बढी चरमपन्थी (Extreme) बन्न पुग्छन्। सामाजिक सञ्जालका अल्गोरिदमले आज यही काम गरिरहेका छन्। यसले गर्दा समाजमा 'मध्यमार्गी' वा 'तटस्थ' ठाउँ हराउँदै गएको छ र हामी कि यो कित्ता, कि त्यो कित्ताको मुठभेडमा फसेका छौँ।
क्यास सन्सटिनको यो सिद्धान्तले बुझाउँछ कि जब एउटै विचारधारा भएका व्यक्तिहरू एकै ठाउँमा भेला हुन्छन्, उनीहरूले नयाँ तथ्य सिक्नुको सट्टा आफ्नै पुराना धारणालाई अझ बलियो बनाउने 'खुराक' मात्र पाउँछन्। सन्सटिन यसलाई 'इको-चेम्बर इफेक्ट' भन्छन्, जहाँ आफ्नै स्वरको प्रतिध्वनि मात्र सुनिन्छ। यस प्रक्रियामा समूहका सदस्यहरू एक-अर्कालाई प्रभावित पार्ने होडमा झन्-झन् कट्टर बन्दै जान्छन्। परिणामस्वरूप, सुरुमा 'मध्यम' विचार राख्ने व्यक्ति पनि समूहको ताली र समर्थन पाउने लोभमा बिस्तारै 'चरमपन्थी' धारमा पुग्छ।
यसलाई सामाजिक सञ्जालको सन्दर्भमा हेर्दा अझ भयावह देखिन्छ। फेसबुक वा एक्स (ट्विटर) का एल्गोरिदमले तपाईंलाई त्यही सामग्री पस्किन्छन्, जसले तपाईंको विद्यमान सोचलाई 'पुष्टि' (Validate) गरोस्। सन्सटिनले चेतावनी दिएझैँ, यसले 'इन्फर्मेसन कोकुन' (सूचनाको घेरा) निर्माण गर्छ। जब समाज यसरी विभाजित हुन्छ, 'तर्क' को ठाउँ 'आवेग' ले लिन्छ।
आजको नेपाली समाजमा देखिएको समस्या यही हो - एउटा पक्षले जे गरे पनि 'क्रान्तिकारी' देख्ने र अर्को पक्षले जे गरे पनि 'प्रतिगामी' देख्ने। सन्सटिनका अनुसार, जब बीचको बाटो वा 'समान्य धरातल' (Common Ground) हराउँछ, तब लोकतन्त्रको आधारभूत खम्बा मानिने 'स्वस्थ बहस' को मृत्यु हुन्छ। हामी अरूको कुरा सुन्न होइन, केवल उसलाई गलत साबित गर्न र आफ्नो समूहमा 'नायक' बन्नका लागि मात्र बोल्छौँ। यो 'ग्रुप पोलराइजेसन' ले अन्ततः समाजलाई संवादहीनताको एउटा यस्तो अँध्यारो सुरुङमा पुर्याउँछ, जहाँबाट निस्कन केवल 'डिजिटल साक्षरता' ले मात्र सम्भव छैन, बरु अर्कै कित्ताको मान्छेलाई पनि 'मान्छे' नै देख्न सक्ने मानवीय चेत चाहिन्छ।
***
'द रिभल्ट अफ द पब्लिक' र डिजिटल अराजकता
सञ्चारविज्ञ तथा सीआईएका पूर्व विश्लेषक मार्टिन गुरीले आफ्नो चर्चित पुस्तक 'द रिभल्ट अफ द पब्लिक' (The Revolt of the Public) मा सूचनाको लोकतान्त्रिकीकरणले कसरी समाजलाई 'निर्माण' भन्दा बढी 'ध्वंस' तिर लैजाँदैछ भन्ने व्याख्या गरेका छन्। गुरीका अनुसार, बीसौँ शताब्दीमा सूचनाको नियन्त्रण राज्य वा निश्चित संस्थाहरूसँग हुन्थ्यो, जसले समाजमा एउटा 'स्थिरता' कायम गर्थ्यो। तर, अहिले सूचनाको बाढीले त्यो पुरानो संरचनालाई भत्काइदिएको छ।
गुरीको मुख्य तर्क छ, अहिलेको 'पब्लिक' कुनै कुरा निर्माण गर्नका लागि एकजुट हुँदैनन्, बरु कुनै कुराको 'विरोध' गर्नका लागि मात्र एकजुट हुन्छन्। उनीहरूलाई थाहा छ कि उनीहरूलाई के मन पर्दैन (जस्तै: पुराना नेता, सरकारी ढिलासुस्ती, वा नयाँ शक्तिको अहंकार), तर उनीहरूलाई के 'चाहिन्छ' भन्नेमा कुनै साझा सहमति हुँदैन। यसले गर्दा सामाजिक सञ्जालमा एउटा यस्तो भीड तयार हुन्छ, जसले केवल 'अस्वीकार' र 'निषेध' को राजनीति मात्र बुझ्दछ।
यसै सन्दर्भमा, चर्चित वृत्तचित्र 'द सोसल डिलेमा' मा गुगल र फेसबुकका पूर्व इन्जिनियरहरूले एउटा डरलाग्दो कुरा स्वीकार गरेका छन् - 'हामीले यस्तो मेसिन बनायौँ जसले मानिसको ध्यान खिच्नका लागि उनीहरूलाई क्रोधित र उत्तेजित बनाउनु पर्छ भन्ने सिक्यो।'
जब तपाईं सरकारको समर्थन वा विरोधमा कुनै पोस्ट लेख्नुहुन्छ, एल्गोरिदमले त्यसलाई तार्किक बहसका लागि होइन, बरु 'इन्गेजमेन्ट' (लाइक, कमेन्ट, सेयर) बढाउन प्रयोग गर्छ। र, इन्गेजमेन्ट सबैभन्दा बढी 'गाली' र 'विवाद' मा हुन्छ।
गुरीको विश्लेषण र यो प्राविधिक वास्तविकताले के देखाउँछ भने, हामीले जसलाई 'राजनीतिक चेत' भनिरहेका छौँ, त्यो वास्तवमा एल्गोरिदमले पैदा गरिदिएको 'सामूहिक आक्रोश' मात्र हुन सक्छ। जब समाजमा विचारको सट्टा 'आक्रोश' को व्यापार हुन थाल्छ, तब 'इन-ग्रुप' र 'आउट-ग्रुप' को पर्खाल झन् अग्लो हुँदै जान्छ।
***
'इन-ग्रुप' (In-group) र 'आउट-ग्रुप' (Out-group) को मनोविज्ञान 'हामी र उनीहरू' बीचको सामाजिक विभाजनको मुख्य आधार हो। विश्वका विभिन्न देशहरूमा यस विषयमा गम्भीर प्राज्ञिक तथा राजनीतिक बहसहरू भएका छन्, जसले समाज कसरी ध्रुवीकृत हुन्छ भन्ने प्रस्ट पार्छन्।
- अमेरिका र बेलायत : यहाँ मुख्यतया राजनीतिक र जातीय पहिचान माथि बहस केन्द्रित छ। 'मुस्लिम-अमेरिकी' वा 'मेक्सिकन-अमेरिकी' जस्ता दोहोरो पहिचान भएका व्यक्तिहरूले कसरी 'इन-ग्रुप' र 'आउट-ग्रुप' बीचको दूरी कम गर्न सक्छन् भन्ने विषयमा अध्ययनहरू भएका छन्।
- ब्राजिल : यहाँ नैतिकता र समूहको स्वार्थ माथि गम्भीर बहस भएको छ। अध्ययनहरूले देखाएका छन् कि 'सामूहिक अहंकार' (Collective Narcissism) भएका व्यक्तिहरूले आफ्नो समूहको स्वार्थ पूर्ति हुने कामलाई बढी 'नैतिक' ठान्छन्।
- जर्मनी र नर्वे : यी देशहरूमा धार्मिक अल्पसंख्यक (विशेषगरी मुस्लिम) र ज्येष्ठ नागरिकहरू विरुद्ध हुने राजनीतिक क्रियाकलाप र 'सापेक्षित वञ्चितीकरण' (Relative Deprivation) बारे बहस भएका छन्।
- अस्ट्रेलिया : यहाँ राजनीतिक बहसको निष्पक्षताका लागि 'स्वतन्त्र बहस आयोग' (Independent Debates Commission) स्थापना गर्ने विषयमा बहस भएको छ, ताकि प्रमुख दलहरू बीचको 'हामी र उनीहरू' को द्वन्द्वलाई एउटा व्यवस्थित ढाँचामा ल्याउन सकियोस्।
मूल मुद्दाहरू (Core Issues)
इन-ग्रुप पक्षपात (In-group Favoritism): मानिसहरूले आफ्नो समूहका सदस्यहरूलाई बिना कुनै ठोस कारण बढी महत्त्व दिन्छन्।
यो यस्तो मनोवैज्ञानिक झुकाव हो, जहाँ व्यक्तिले आफ्नो समूह (जाति, धर्म, राजनीतिक दल वा क्लब) का सदस्यहरूलाई अरूभन्दा बढी विश्वासिलो र सक्षम ठान्छ। प्रिन्स्टन र डार्टमाउथको अध्ययनले पुष्टि गरेझैं, हाम्रो 'पहिचान' ले हाम्रो 'दृष्टि' लाई नै पक्षपाती बनाइदिन्छ। एउटै घटनालाई हेर्दा पनि हाम्रो मस्तिष्कले आफ्नै टोलीको गल्तीलाई 'भुल' र विपक्षीको गल्तीलाई 'अपराध' को रूपमा व्याख्या गर्छ। यसले गर्दा मानिसहरू तथ्यभन्दा पनि समूहप्रतिको निष्ठा (Loyalty) लाई बढी प्राथमिकता दिन्छन्। यो प्रवृत्तिले समाजमा स्वस्थ प्रतिस्पर्धाको साटो अन्धभक्तिलाई प्रश्रय दिन्छ, जहाँ न्यायको कसी 'के सही हो' भन्ने होइन, बरु 'को आफ्नो हो' भन्नेमा सीमित हुन पुग्छ।
जेनोफोबिया (Xenophobia) र पूर्वाग्रह: अपरिचित वा बाहिरी समूहप्रतिको डर र घृणालाई 'स्थानीय कानुन पालना नगरेको' वा 'सांस्कृतिक भिन्नता' जस्ता बहानामा जायज ठहर्याउने प्रवृत्तिमाथि बहस भएको छ।
जेनोफोबिया केवल बाहिरी व्यक्तिप्रतिको डर मात्र होइन, यो 'हामी' र 'उनीहरू' बीचको एउटा अदृश्य पर्खाल पनि हो। प्रायः समाजमा आफ्नो समूहभन्दा फरक देखिने वा फरक संस्कृति भएका मानिसहरूलाई 'खतरा' को रूपमा चित्रण गरिन्छ। यस्तो डरलाई अक्सर 'कानुनको पालना' वा 'संस्कार जोगाउने' जस्ता बौद्धिक आवरणले ढाकछोप गर्ने प्रयास गरिन्छ। मनोवैज्ञानिक रूपमा यो आफ्नो असुरक्षालाई अर्कोमाथि पोख्ने माध्यम बन्छ। जब हामी कसैलाई 'बाहिरी' करार गर्छौं, तब उनीहरूमाथिको अन्यायलाई पनि हामी सजिलै उपेक्षा गर्न सक्छौं। यो पूर्वाग्रहले सामाजिक सद्भावलाई मात्र बिगार्दैन, बरु एउटा गतिशील र विविधतापूर्ण समाज निर्माणको बाटोमा मुख्य अवरोध खडा गर्छ।
समूहगत ध्रुवीकरण (Group Polarization): जब समान विचार भएकाहरू बीच मात्र छलफल हुन्छ, उनीहरू पहिलेको तुलनामा अझ बढी कट्टर वा चरमपन्थी (Extreme) बन्न पुग्छन्।
जब मानिसहरू एउटै विचार राख्नेहरूको घेरा (Echo Chamber) भित्र मात्र सीमित हुन्छन्, उनीहरूको धारणा झन् बढी संकीर्ण र चरम बन्दै जान्छ। सामूहिक छलफलले मानिसलाई थप लचिलो बनाउनुको साटो उल्टो आफ्नो पुरानै विश्वासमा अझ बढी कट्टर बनाइदिन्छ। सामाजिक सञ्जालका 'एल्गोरिदम' हरूले यसलाई झन् तीव्र पारेका छन्। जब हामी भिन्न मत सुन्दैनौँ, तब आफ्नो समूहको दृष्टिकोण नै अन्तिम सत्य जस्तो लाग्न थाल्छ। यो ध्रुवीकरणले संवादको ढोका बन्द गरिदिन्छ र समाजलाई दुई विरोधी कित्तामा विभाजित गर्छ, जहाँ मध्यमार्गी वा सन्तुलित विचारका लागि कुनै ठाउँ बाँकी रहँदैन। यसले अन्ततः समाजलाई द्वन्द्व र असहिष्णुतातर्फ धकेल्छ।
निष्कर्ष
- 'हामी र उनीहरू' को खाडल: इन-ग्रुप र आउट-ग्रुपको अस्तित्वले समूह भित्रको एकता (Cohesion) त बढाउँछ, तर बाहिरी समूहप्रति गलत बुझाइ, अविश्वास र घृणा पनि पैदा गर्छ।
- सम्पर्क सिद्धान्त (Intergroup Contact) : बाहिरी समूहका सदस्यहरूसँगको सकारात्मक अनुभवले उनीहरू विरुद्धको आक्रोस कम गर्न मद्दत गर्छ।
- दोहोरो पहिचानको प्रभाव: यदि कसैले आफूलाई दुवै समूहको सदस्यको रूपमा प्रस्तुत गर्छ भने, त्यसले दुवै समूह बीचको सम्बन्ध सुधार गर्न 'गेटवे' (Gateway) को काम गर्छ।
डिजिटल प्रभाव: सामाजिक सञ्जालका 'इको-चेम्बर' हरूले मानिसलाई आफ्नो समूहको धारणा मात्र सुनाएर झन् कट्टर बनाउँदै लगेका छन्।
तपाइँ-हामी कुन बाटो जाने ?
तपाइँलाई के लाग्छ, तटस्थ बस्नु समाधान हो? सक्नुहुन्छ? 'तटस्थ' बस्नुको अर्थ कतिपय अवस्थामा चुप लाग्नु वा जिम्मेवारीबाट पन्छिनु पनि हुन सक्छ, तर यो भीडमा आफूलाई सन्तुलित राख्नु भनेको 'बौद्धिक इमानदारिता' कायम राख्नु हो।
हाम्रो बाटो 'मौनता' को होइन, 'सत्यनिष्ठ अभिव्यक्ति' को हुनुपर्छ। हामीले हात्ती (भावना) लाई शान्त त पार्नुपर्छ, तर माउते (तर्क) लाई सुताउनु हुँदैन। माउते जागा रहनुको अर्थ हो, समाजमा भइरहेका गलत कामको पहिचान गर्नु र त्यसको विरुद्धमा तथ्यपरक ढंगले उभिनु।
विद्वानहरू, मनोवैज्ञानिक र समाजशास्त्रीहरूका अनुसार यो दलदलबाट निस्कन र आफूलाई सन्तुलित राख्न निम्नलिखित उपायहरू अपनाउन सकिन्छ :
'तटस्थता' भन्दा 'वस्तुनिष्ठता' (Objectivity over Neutrality)
समाधान तटस्थ हुनु (म कतै पनि छैन भन्नु) मात्र होइन। तटस्थताले कहिलेकाहीँ अन्यायलाई मद्दत गर्छ। समाधान 'वस्तुनिष्ठ' हुनु हो। यसको अर्थ हो - कुनै घटना वा निर्णयलाई दलको चस्माबाट होइन, 'गुण र दोष' को आधारमा हेर्नु। यसमा उपायका रुपमा 'मैले समर्थन गरेको दलले यो गर्यो त्यसैले ठिक हो' भन्नुको साटो 'यो कामले आम नागरिकलाई के फाइदा गर्छ?' भनेर सोच्ने अभ्यास गर्नुपर्छ।।
सक्रिय नागरिकता (Active Citizenship)
सक्रिय नागरिकता भनेको मतदान गर्नु वा कर तिर्नु मात्र होइन, बल्कि समाजमा भइरहेका विसंगति र अन्याय विरुद्ध प्रश्न गर्ने 'सचेत हस्तक्षेप' हो। जब एउटा नागरिकले राजनीतिलाई केवल नेताको जिम्मेवारी ठानेर मौन बस्छ, तब लोकतन्त्र कमजोर हुन्छ। सक्रिय नागरिकताले हामीलाई 'उपभोक्ता' बाट 'निर्णायक' मा बदल्छ। यसको अर्थ हो - आफ्नो दल वा समूहले गरेका गल्तीमा पनि औँला उठाउन सक्ने साहस राख्नु।
तटस्थताले अन्यायलाई मौन समर्थन गरिरहँदा, सक्रिय नागरिकताले 'न्यायिक पक्षधरता' लिन्छ। यो भीडको हिस्सा बनेर होहल्ला गर्ने बाटो होइन, बरु तथ्य र विवेकको आधारमा सार्वजनिक बहसलाई अर्थपूर्ण बनाउने र जवाफदेहिता खोज्ने बाटो हो। अन्ततः, सक्रिय नागरिक नै लोकतन्त्रको वास्तविक पहरेदार हो।
बौद्धिक विनम्रता (Intellectual Humility)
मनोवैज्ञानिकहरूका अनुसार हामीले आफूलाई 'म सधैं सही छु' भन्ने भ्रमबाट मुक्त गर्नुपर्छ। 'द राइटियस माइन्ड' मा जोनाथन हाइटले भनेझैं, हाम्रा विरोधीहरूको पनि आफ्नै 'नैतिक जग' हुन्छ। यसमा उपाय छ, आफूलाई मन नपर्ने विचार सुन्दा वा पढ्दा तुरुन्तै प्रतिक्रिया (React) जनाउनुको साटो, उसले यसो भन्नुको पछाडि के तर्क हुन सक्छ भनेर बुझ्ने प्रयास गर्नुपर्छ। यसलाई 'स्टिल-म्यानिङ' (Steel-manning) भनिन्छ, जहाँ तपाईं विपक्षीको तर्कलाई झन् बलियो बनाएर बुझ्नुहुन्छ र मात्र आफ्नो धारणा बनाउनुहुन्छ।
'एल्गोरिदम' को बन्धन तोड्ने (Breaking the Filter Bubble)
प्राविधिक रूपमा सन्तुलित रहन आफ्नो डिजिटल आहार (Digital Diet) परिवर्तन गर्नु जरुरी छ। यसमा उपाय छ, आफूभन्दा फरक विचार राख्ने कम्तीमा दुई-तीन जना बौद्धिक व्यक्तिहरूलाई सामाजिक सञ्जालमा पछ्याउनुस्। उनीहरूका तर्क पढ्नुस्। यसले तपाईंलाई आफ्नो 'इको-च्याम्बर' बाट बाहिर निस्कन र संसारलाई बहुआयामिक रूपमा हेर्न सघाउँछ।
सामूहिक पहिचानबाट दूरी (Decoupling Identity from Ideology)
जब राजनीति हाम्रो 'पहिचान' बन्छ, तब अर्को दलको विरोध गर्नु भनेको आफ्नो अस्तित्वकै विरोध गर्नु जस्तो लाग्छ। यसमा उपाय छ, राजनीतिलाई एउटा सेवा वा व्यवस्थाको रूपमा मात्र हेर्नुहोस्, आफ्नो व्यक्तित्वको अभिन्न अङ्गको रूपमा होइन। 'म फलानो पार्टीको कार्यकर्ता हुँ' भन्नु भन्दा 'म एक सचेत नागरिक हुँ, जसलाई यो विषयमा यस्तो लाग्छ' भन्नुमा धेरै फरक छ।
डिजिटल मौनता र गहिरो चिन्तन (Deep Work and Digital Detox)
भिडको मनोविज्ञानले हामीलाई तुरुन्तै प्रतिक्रिया दिन बाध्य पार्छ। यसमा उपाय हो, कुनै पनि विवादास्पद विषयमा सामाजिक सञ्जालमा लेख्नुअघि कम्तीमा २४ घण्टा पर्खनुहोस्। यो 'कुलिङ पिरियड' ले तपाईंको आवेगलाई शान्त पार्छ र तपाईंको तर्कलाई बढी परिपक्व बनाउँछ।
'ग्रे एरिया' (Grey Area) लाई स्वीकार्ने
हाम्रो समाजले कि त 'सेतो' कि त 'कालो' मात्र देख्छ। तर वास्तविकता 'खरानी' (Grey) रङको हुन्छ। कुनै पनि सरकार १०० प्रतिशत सही वा १०० प्रतिशत गलत हुँदैन। उपायका रुपमा एउटै व्यक्तिका केही कामको प्रशंसा र केहीको आलोचना गर्न सक्ने क्षमता विकास गर्नुहोस्। यो नै सन्तुलित व्यक्तिको सबैभन्दा ठूलो पहिचान हो।
निष्कर्षमा समाधान भनेको भीडबाट भाग्नु होइन, बरु भीडमा रहेर पनि आफ्नो 'विवेक' लाई बन्धक नराख्नु हो। जोनाथन हाइटले भनेझैँ, जब हामी 'हात्ती' (भावना) लाई 'माउते' (तर्क) को नियन्त्रणमा राख्न सिक्छौँ, तब मात्र हामी यो 'इन-ग्रुप र आउट-ग्रुप' को अन्तहीन चक्रबाट मुक्त हुन सक्छौँ। सन्तुलन भनेको दुवै पक्षको गाली खानु मात्र होइन, बरु तथ्यको पक्षमा उभिने साहस गर्नु हो।
***
सन्दर्भ सामग्री सूची (Reference List)
१. द बिग सर्ट (The Big Sort), लेखक: बिल बिशप (Bill Bishop), मुख्य विषय: कसरी आधुनिक समाज भौगोलिक र वैचारिक रूपमा समान सोच भएका समूहहरूमा विभाजित हुँदैछ (Clustering of Like-Minded America) भन्ने समाजशास्त्रीय विश्लेषण।
२. द राइटियस माइन्ड (The Righteous Mind), लेखक: जोनाथन हाइट (Jonathan Haidt), मुख्य विषय: नैतिकता र राजनीतिको मनोविज्ञान। यसमा प्रयोग गरिएको 'हात्ती र माउते' (The Elephant and the Rider) को रूपक र "Morality binds and blinds" भन्ने अवधारणा यसै पुस्तकबाट लिइएको हो।
३. ग्रुप पोलराइजेसन र इको-चेम्बर (Group Polarization & Echo Chambers), विद्वान: क्यास सन्सटिन (Cass R. Sunstein), स्रोत: उनका विभिन्न पुस्तकहरू जस्तै '#Republic: Divided Democracy in the Age of Social Media' र उनका कानुनी तथा सामाजिक लेखहरू। यसले समान विचारधारा भएका मानिसहरूको छलफलले कसरी चरमपन्थ निम्त्याउँछ भन्ने व्याख्या गर्दछ।
४. द रिभोल्ट अफ द पब्लिक (The Revolt of the Public), लेखक: मार्टिन गुरी (Martin Gurri), मुख्य विषय: सूचना प्रविधिको विकासले कसरी स्थापित सत्ता र संस्थाहरूको विश्वास गुम्दै गएको छ र कसरी 'निषेधको राजनीति' (Politics of Negation) हाबी भएको छ भन्ने विश्लेषण।
५. द सोसल डिलेमा (The Social Dilemma), निर्देशक: जेफ ओर्लोस्की (Jeff Orlowski), निर्माण: नेटफ्लिक्स डकुमेन्ट्री, मुख्य विषय: सामाजिक सञ्जालका एल्गोरिदमहरूले कसरी मानिसको मनोविज्ञानलाई प्रभाव पार्छन् र समाजमा ध्रुवीकरण बढाउँछन् भन्नेबारे सिलिकन भ्यालीका पूर्व विज्ञहरूको स्वीकारोक्ति।
६. मनोवैज्ञानिक अवधारणाहरू: पुष्टीकरण पूर्वाग्रह (Confirmation Bias), पिटर वासन (Peter Wason) द्वारा प्रतिपादित। इन-ग्रुप/आउट-ग्रुप मनोविज्ञान: सामाजिक पहिचान सिद्धान्त (Social Identity Theory) अन्तर्गत हेनरी ताजफेल (Henri Tajfel) का अध्ययनहरू।
