Friday, January 4, 2013

नाबालक र नियति


भिभावकलाई केही भइहाले बच्चाहरूको बिजोक हुन्छ। यस्ता घटना देख्न सुन्न नपरोस भन्दाभन्दै पनि नजिकबाट हेर्न र कुरा गर्नै पर्ने बाध्यता आइलाग्छन्। सञ्चारकर्मीका जीवनमा यो स्वाभाविक पनि हो। हरेक खबरका पछि कारण हुन्छन्। सधैं 'ब्याड न्युज इज गुड न्युज' भन्ने मलाई लाग्दैन। त्यसैले तटस्थ विषयहरूको खोजी मेरा लागि मनलाग्दा काम हुन्। अधिकांश ब्याड न्युज अखबारका लागि गुड न्युज हुन्छ। तर, लेख्नुको ध्येय समाचार छाप्नु मात्र हुँदैन।
 
त्यसका कारकहरूको निदान र वर्तमान समस्याको सरल समाधान खोज्न सम्बद्ध सबैको ध्यान जाओस् भन्ने उद्देश्य रहन्छ। हिजो बिहीबार बन्धु पोखरेल भाइले सप्तरीको महुलीमा मारिएका दम्पतीका छोराछोरी विराटनगरको मधुमारामा ल्याइएको सुनाए। भेट्न जान मन लाग्यो। पुगियो र उनीहरूसँगका कुरा लेखियो। 

डम्बर र कौशल्या भट्टराईका हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन। उनीहरूको अवसानपछि तीन सन्तानको भविष्य अन्योलमा छ। 

सानो केटो बडो मजाले बोल्दो रहेछ। मीठो कुरा गर्दो रहेछ। टाठा केटाकेटी। मायालाग्दा अनुहार। डम्बरका ८६ वर्षीय पिताजी जीवितै रहेछन्। माहिलो दिल्ली जाने भनेर हराएको, कान्छाको छोरा बुहारी नै मारिएको घटनाले उनी शोकमग्न भेटिए। समाचार कान्तिपुरले आज ५ नम्बर पानामा छापेको छ । यो यस्तो छ .....
***
'गरिबीले छोरा-बुहारीको ज्यान गयो'
विराटनगर, पुस २० - तीन अबोधका त्रसित आँखाहरूमा आँसु सुकिसकेको छैन। तैपनि कर्म चलाउनैपर्ने संस्कार। कुशको जनै लगाइदिई १३ वर्षका जेठा छोरा दीपेशलाई किरियामा राखिएको छ।

आमा-बुवालाई कोसी किनारमा सेलाइएपछि बडाबुवाको गौशालामा ल्याइएका ११ वर्षीया दीपिका र सात वर्षका दीपेश अझै स्कुले पोसाकमै छन्। गत सोमबार राति सप्तरीको महुली खोला किनारमा पर्ने जन्डौल-८ मा अज्ञात समूहले डम्बर भट्टराई र पत्नी कौशल्याको हत्या गरेको थियो। घटनापछि उनीहरूका तीन सन्तान विराटनगरको मधुमारा बस्ने बडीबुवा भक्तिप्रसाद भट्टराईले आफूकहाँ ल्याएका छन्। भक्तिप्रसाद र डम्बर दाजुभाइका छोरा हुन्। 'घटना भैगो। ठूलो छोरोको व्रतबन्ध पनि भएको थिएन,' भक्तिप्रसादले भने, 'कुशको जनै बनाएर विधि गरी किरियामा बसाएका छौं।'

बालबालिकाको भविष्यको चिन्ता पनि थपिएको छ। घटनापछि महुली खोला किनारको बस्तीका चार घर विस्थापित भएको र दोषी पत्ता लगाउन माग भइरहेको समाचार आइरहँदा भक्तिप्रसादलाई 'नानीहरू एउटा-एउटा पढाइदिने,' आश्वासनका फोन कलहरू आइरहेका थिए। उनी मधुमारामा करिब दर्जन गाई पालेर दूध र मल बेच्ने गौशाला चलाउँछन्। 

अहिले नाबालकहरूको अस्थायी बास गौशालाकै एउटा कोठामा भएको छ। घटनाको रातका बारेमा बताउँदै अबोधहरू भावुक हुन्छन्। स्थानीय नहरको पक्की पालेघरसँगै डम्बरको घर थियो। त्यो रात छोराछोरीलाई पाले घरमा सुताएर भट्टराई दम्पती गोठमा सुतेका थिए। 

'गाई बाछा चोरले लगिदेला भनेर गोठमा सुत्नुभएको थियो,' दीपेशले भने, 'एक हूल मान्छे आए। हाम्रो आँगनमा बलेको बत्ती फुटाए। हामी सुतेको कोठाको चुकुल बाहिरबाट लगाइदिए।' उनीहरूले समात्दा भाग्न खोजेका डम्बरलाई कुट्दै आँगनमा लछारपछार पारे। 'गुहार' भन्दै चिच्याउन थालेकी कौशल्याको घाँटीमा गम्छा बेरेर लडाए। 'बत्ती फुटाएपछि बाहिर अँध्यारो थियो, तैपनि दुलोबाट भाइ र मैले चिहायौं,' उनले भने, 'उल्टा बाँध उल्टा भनेको सुनेँ ।' 

दुवैको हत्यापछि अबोधहरू भएको कोठाको चुकुल खोलिदिएर हत्याराको समूह हिँडेको थियो। अबोधहरू धेरैबेर त्रासले बाहिर निस्कन सकेनन्। भट्टराई परिवारमाथिको यो दोस्रो आक्रमण थियो। दुई वर्षअघि लुटेराको एउटा समूहले दुवैलाई आक्रमण गरी मोबाइल र नगद लुटी लगेका थिए। जाँदाजाँदै उनीहरूले 'फेरि आउँछौं' भन्दै गएका थिए। त्यस बेला डम्बरको अनुहार र कौशल्याको हातमा गहिरो चोट लागेको थियो। 

भक्तिसँगै रहेका डम्बरका ८६ वर्षीय पिता पशुपति भट्टराई भन्छन्, 'यो गरिबीले गरेको हत्या हो। गरिबलाई जहाँ गए पनि सुख छैन।' उनका अनुसार खोटाङको बतासेबाट झरेर झापाको दमक पुगेको परिवारमा जग्गा अधिग्रहणले गरिबीको रेखा कोर्‍यो। पाँच दशकअघि हिमालयन टी स्टेट बनाउन तत्कालीन अञ्चलाधीशले 'पछि मुआब्जा दिलाइदिने' भन्दै १३ बिघा जमिन अधिग्रहणमा पारेर विस्थापित गराए। 

'हामीले जमिन पाएनौं, बसाइ हिँड्दै छोराहरू कता-कता पुगे। जेठो काठमाडौं लागे। माहिला 'काम गर्न दिल्ली जान्छु' भनेर हिँडेपछि फर्किएनन्। कान्छा डम्बर सप्तरीको जन्डौलमा जंगल छेउ बस्न पुगे,' पशुपतिले भने। वृद्धावस्थामा नातिनातिनाको बिजोक असह्य भइरहेको उनले बताए। 

डम्बर र कौशल्याको किरियापछि सन्तानको के हुने भन्ने टुंगो छैन। भक्तिप्रसाद भन्छन्, 'आफ्ना रगत हुन्। त्यसै कसैलाई जिम्मा लगाउने कुरा आउँदैन।'

No comments: